मधेसमा लोकप्रियता परीक्षणका लागि उम्मेदवारी दिएँ : कांग्रेस नेता प्रदिप गिरी

राजनीति समाचार

सिरहा। कांग्रेस नेता प्रदिप गिरीले मधेसमा आफ्नो लोकप्रियता परीक्षणका लागि मधेस भूमिबाटै उम्मेदवारी दिएको बताउनुभएको छ । ‘म मधेसमैँ जन्मे, मधेसमैँ हुर्किए र पछिल्लो समयमा मधेसकै अधिकारको सवालमा केन्द्रित रही सदैव अघि बढेँ ।
अब मैले आर्जन गरेको लोकप्रियताको परीक्षण पनि मेरो जन्मभूमि र मधेस आन्दोलनको उद्गम विन्दु सिरहा क्षेत्र नम्बर १ मै गर्न खोजेको हुँ’ प्रेस युनियन सिरहाद्वारा शनिबार लहानमा आयोजित पत्रकार भेटघाटमा नेता गिरीले भन्नुभयो, ‘मधेसको आन्दोलन उत्कर्षमा पुगेको बेला, मधेसको विपक्षमा नयाँ संविधानको लागि संविधानसभामा मतदान भइरहेको थियो त्यो बेला मधेस आन्दोलनको पक्षमा संविधानसभामा कराउने र संविधान पारित गरिने मतदानलाई बहिष्कार गर्ने मै एक्लो कांग्रेसको सभासद थिएँ ।’
आसन्न प्रतिनिधि सभा चुनावमा सिरहा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिनुभएका उहाँले भन्नुभयो ‘मधेस आन्दोलनको उपलब्धिको रक्षा गर्न मैले कुनै कसर बाँकी राखेको छैन ।’ मधेस मुद्दा सम्बोधन गराउन आफूले संसदमा खेलेको भूमिका सबैलाई थाहा भएकोले मधेसी जनताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यो चुनावमा उम्मेदवारको जात, धर्म, समुदाय र व्यक्तिगत चरित्र हेर्नुभन्दा पनि उम्मेदवारले कुन विचार बोकेको छ भन्ने कुरा हेर्नु आवश्यक रहेको उल्लेख गर्दै वाम गठबन्धनले बोकेको विचार र लोकतान्त्रिक आन्दोलनले सिर्जना गरेको विचारबिचको बहस सुरु होस भन्ने आफ्नो विचार रहेको बताउनुभयो ।
यसपटक जिते अब मन्त्री हुने चाहना सुनिन्छ नी भन्ने पत्रकारहरुको जिज्ञासामा नेता गिरीले ठट्यौलीपूर्ण उत्तर दिंदै जनताले चुनाव जिताए मन्त्री मात्रै होइन आफू प्रधानमन्त्री पनि बन्न सक्ने बताउनुभयो । कम्युनिष्ट शासन भएका उत्तर कोरिया र चीनका जनता निस्सासिएर बाँचेको र भेनेजुयला, क्युवा र कम्बोडिया आर्थिक रुपमा राम्रो भएको उदाहरण दिँदै उहाँले नेपालका लागि प्रजातान्त्रिक विचारधारा नै उत्तम रहेको जीकिर गर्नुभयो ।
दशनङग्रा खियाएर काम गर्ने मजदुर र प्रधानमन्त्री दुवैको महत्व बराबर हुने विचारधारा प्रजातान्त्रिक विचारधारा भएको प्रष्ट पार्दै उहाँले कुनैपनि वाद अन्तिम सत्य नहुने र कम्युनिष्ट विचारधारा अधिनायकवादी विचारधारा भएकाले चुनावको माहौलमा जनताको चेतना उचालिएको बेला यो बहस व्यापक हुन जरुरी रहेको बताउनुभयो ।
नेता गिरीले वाम र प्रजातान्त्रिक पक्षको तीब्र ध्रुवीकरण्म भइरहेको बेला कुन विचारधारा नेपालका लागि उपयुक्त हुन्छ भन्ने बहस लहानबाटै प्रारम्भ गरेकोसमेत दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *