पाँचऔंले ओसारपसार गर्ने युवक थुनामा, ४ करोड जरिवाना माग

समाचार समाज

गोरखा। प्रतिबन्धित जडिबुटी पाँचऔंलेको ओसारपसारको आरोपमा पक्राऊ परेका गोरखाको आरुघाट गाऊँपालिकाका कमल गुरुङ पुर्पक्षका लागि थुनामा परेका छन् ।
उनीसँगै पक्राउ परेका पाँचऔंले राखिएको बसका चालक सपतबहादुर मगर भने धरौटीमा छुटेका छन् ।
गएको असोज ३१ गते ७४ किलोग्राम प्रतिबन्धित जडिबुटी पाँचऔंले सहित गुरुङ र मगरलाई इलाका प्रहरी कार्यालय आरुघाटले पक्राऊ गरेको थियो । ओसारपसारमा संलग्न भएका आरुघाट गाउँपालिका –९, चाँपपानीका गुरुङ र प्रयोग भएको बसका चालक मगरलाई प्रहरीले जिल्ला वन कार्यालयको जिम्मा लगाएको थियो । वन कार्यालयले उनीहरुविरुद्ध बिहीबार जिल्ला अदालत गोरखामा मुद्धा दायर गरेको थियो ।
शुक्रबार भएको थुनछेक आदेशमा गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने र मगरलाई ९ हजार धरौटीमा रिहा गर्ने फैसला भएको जिल्ला न्यायाधिश वसन्तराज पौडेलले बताउनुभयो । वन कार्यालयले बरामद गरिएको ७४ किलोग्राम पाँचऔंलेको बिगो मूल्य १ करोड ९५ लाख ३८ हजार रुपैया हुने ठहर गरेको छ । एउटा पाँचऔंलेको सरकारी रोयल्टी रकम १ हजार रुपैयाँ रहेको छ ।
वन कार्यालयका तर्फबाट सहायक वन अधिकृत एवम् यस घटनाका अनुसन्धान अधिकृत बालकुमार नेपालले जिल्ला अदालतमा दायर गर्नुभएको मुद्धामा उनीहरुविरुद्ध बिगोको दोब्बर जरिवाना र एक वर्ष कैदको मागदावी गरिएको छ । पाँचऔंले २ हजार ५ सयदेखि ३ हजार मिटर उचाइमा हुने लोपोन्मुख जडिबुटी अन्तर्गत पर्छ ।
लोपोन्मुख भएकाले यसलाई वन ऐन अनुसार संकलन तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको जिल्ला वन अधिकृत जीवनाथ पौडेलले बताउनुभयो । लोपोन्मुख प्रजातिमा पर्ने भएकाले यसमा लोपोन्मुख प्रजातिहरुको अन्तर्राष्ट्रिय ऐन अर्थात साइटिस महासन्धि आकर्षण हुने पौडेलको भनाइ छ ।
प्रतिबन्धित हुनुअघि प्रतिगोटा पाँचऔंलेको एकहजार रुपियाँ राजस्व असुल गरिन्थ्यो । त्यसैका आधारमा वन कार्यायलले पक्राऊ परेका गुरुङ र मगरविरुद्ध झण्डै ४ करोड रुपैयाँ जरिवानाको मागदाबी गरेको जिल्ला वन कार्यालयले जनाएको छ । उज्यालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *