चितवन क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष दाहालकाे मनोनयन दर्ता

राजनीति समाचार

काठमाडाैं, १६ कात्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनु भएको छ ।
अध्यक्ष दाहालले आज दिउँसो सवा २ बजे भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको हो ।
बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिनु भएका दाहालले स्थानीय संचारकर्मीमाझ आफूलाई पहिलो पटक गृह जिल्लाबाट उम्मेदवारी दिन पाएकोमा खुसी लागेको प्रतिक्रिया दिनु भयो । उहाँले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुने तथा समृद्धि र विकासको अभियानले तीव्रता पाउने विश्वास पनि व्यक्त गर्नु भयो ।
अध्यक्ष दाहाल पहिलो संविधान सभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएको थियो । दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचनमा हार व्यहोर्नु भएका दाहाल सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचिन हुनु भएको थियो ।
यस निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्नु भएका उहाँ लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेसँग प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *