काठमाडौँमा उत्साहका साथ उम्मेदवारी दर्ता

राजनीति समाचार

काठमाडौँ। दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौँमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी दर्ता गरेका छन्।
राजधानीको अनामनगरस्थित निर्वाचन क्षेत्र नं ५ को कार्यालयमा आज प्रतिनिधि सभा सदस्यका लागि नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले उम्मेदवारी दर्ता गराए। यस क्षेत्रका दुवै प्रदेश सभा सदस्यका लागि करिब १८ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।
छुट्टाछुट्टै समयमा आउनुभएका दुवै दलका नेता कार्यकर्ताको जुलुशले सो क्षेत्रमा केहीबेर सवारी आवागमनसमेत अवरुद्ध हुन पुगेको थियो। निर्वाचन क्षेत्र नं ५ को प्रतिनिधि सभा सदस्यका लागि काँग्रेस र एमालेबाहेक विभिन्न दल र स्वतन्त्रगरी झण्डै २० जनाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत चणकमणि अर्यालले जानकारी दिए।
सोही स्थानमा रहेको निर्वाचन क्षेत्र नं ८ को कार्यालयमा काँग्रेस नेता नवीन्द्रराज जोशी र एमाले नेता जीवनराम श्रेष्ठलगायत विभिन्न दल र स्वतन्त्रका गरी जम्मा नौ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रामप्रसाद लम्सालले जानकारी दिए।
राजाधानीको बबरमहलस्थित निर्वाचन क्षेत्र नं ७ को कार्यालयमा आज प्रतिनिधि सभा सदस्यका लागि विभिन्न दलका जम्मा १० जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत कपिलमणि गौतमले जानकारी दिए। यस क्षेत्रको प्रदेश सभाका लागि पनि सोही हाराहारीमा उम्मेदवारी परेको छ। यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा र वाम गठबन्धनबाट एमालेका रामवीर मानन्धरले उम्मेदवारी दिएका छन्।
त्यस्तै प्रदेशको निर्वाचन क्षेत्र नं १ र २ मा विभिन्न दल र स्वतन्त्र गरी सात÷सात जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन आयोगले दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ताको तालिका तोकेको थियो। मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि भने यही कात्तिक ५ गते मनोनयन दर्ता सम्पन्न भइसकेको छ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *