वाम गठबन्धनमा भागबण्डाको टुंगो लाग्यो, कसको भागमा कति?

राजनीति समाचार

काठमाडौँ , १५ कार्तिक । वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार भागबण्डाको टुंगो लगाएको छ। नेकपा एमाले र माओवादी केन्द्रले सहमतिकै आधारमा भागबण्डाको टुंगो लगाएका हुन्।  दुई दलबीच भएको सहमतिअनुसार प्रतिनिधिसभामा एमालेले ९७ र माओवादी केन्द्रले ६१ सिट पाउने छन् भने राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले ७ सिट पाउने भएका छन्।
त्यस्तै प्रदेशसभामा एमालेले १९८, माओवादी केन्द्रले १२८ र गठबन्धनमा सहभागी अन्य साना दललाई ४ सिट दिने सहमति भएको छ।  भागबण्डामा सहमतिभएसँगै वाम गठबन्भनले आज उम्मेद्वारको टुंगो समेत लगाउने जनाएको छ ।
‘एमालेको भागमा मोटामोटी ६१ प्रतिशत र माओवादीको भागमा ३९ प्रतिशत जति परेको छ एमालेका एक केन्द्रिय नेताले जानकारी दिए। उनका अनुसार वाम गठबन्धनमा सामेल भएका केही नेतालाई छाड्नु पर्ने भएकाले एमाले, माओवादी भागबण्डामा केही तलमाथि देखिने बताइएको छ।
वाम गठबन्धले झापा ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने भएको छ। लिङ्देनको राप्रपा पार्टी अहिले सरकारमा छ। वाम गठबन्धन भएपछि भएपछि राप्रपाले नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रीक गठबन्धनसँग चुनावी तालमेलको घोषणा गरेको थियो। झापा ३ नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले नछोड्ने दाबी गरेपछि लोकतान्त्रीक गठबन्धनमा विवाद देखिएको थियो।
अब वाम गठबन्धनको सहयोगमा लिङ्देनले काँग्रेस नेता सिटौलासँग प्रतिशपर्धा गर्ने भएका छन्।  त्यस्तै भक्तपुर १ मा पनि बाम गठबन्धनले नेपाल किसान मजदुर पार्टीका नेता नारायणमाण विजुक्छेलाई सहयोग गर्ने भएको छ भने भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका महेश बस्नेतलाई उम्मेद्वार बनाउने सहमति भएको छ।
त्यस्तै विवादमा रहेको दाङ क्षेत्रनम्बर २ मा माओवादी नेता कृष्णबहादुर महरालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने चितवनको निर्वाचन क्षेत्र नम्बर दुईमा एमालेका कृष्णझक्त पोखरेललाई उम्मेद्वारी बनाउने सहमति भएको छ।
त्यस्तै सुर्खेतमा प्रतिनिधिसभामा दुबै क्षेत्र एमाले र प्रदेशसभामा सबै क्षेत्र माओवादीले पाउने सहमति भएको छ। त्यस्तै इलाम १ नम्बरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र २ नम्बरमा पूर्वसभामुख सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै मोरङ १ मा घनश्याम खतिवडा र उक्त क्षेत्रको प्रदेश (ख) मा उपेन्द्र घिमिरेलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ।
झापा ५ बाट प्रनिनिधिसभामा पार्टी अध्यक्ष केपी ओली उम्मेदवार बन्ने भएका छन्। ओलीको क्षेत्रको प्रदेश (क) मा हिक्मत कार्की र प्रदेश (ख) बाट अर्जुन राईलाई उम्मेदवार बनाउने स्थायी समितिले निर्णय गरेको छ।
मोरङ २ को प्रतिनिधिसभामा ऋषिकेश पोखरेल, प्रदेश (ख) मा लीलाबल्लभ अधिकारी, मोरङ ३ मा एमालेका भानुभक्त ढकाल तथा प्रदेश (ख) मा दानकुमार ओझालाई उम्मेदवार बनाउने निर्णय भएको छ। यस्तै मोरङ ४ को (ख) प्रदेशमा जीवन घिमिरे तथा ५ को (ख) मा धर्मानन्द सञ्जेललाई उम्मेदवार बनाइएको छ । मोरङ ७ मा लालबाबु पण्डित तथा प्रदेश (ख) मा रमेश पोखरेललाई उम्मेदवार बनाइएको छ।
धनकुटाको प्रतिनिधिसभातर्फ राजेन्द्र राई तथा प्रदेशमा टिका चेम्जोङ र ईन्द्रमणि पराजुलीलाई उम्मेदवार तोकिएको छ । एमालेले तेह्रथुममा निवर्तमान सांसद भवानी खापुङलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । तेह्रथुमको प्रदेश (क) मा लक्ष्मण तिवारी र प्रदेश (ख) मा तेजमान कङदङवालाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। डिसी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *