काठमाडौं, ४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जतिको झुट बोल्न सिपालु नेता नेपालमा अरु कोही नभएको भन्दै कडा आलोचना गरेका छन् ।

शहीद सूर्यनाथ यादवको ३६ औं स्मृति दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै नेकपा हुँदा ओलीसँगै अध्यक्ष बनेका प्रचण्डले ओली जत्तिको झुट बोल्न सक्ने नेता नेपालमा सायद अरू नभएको भनेर टिप्पणी गरेका हुन् ।

आफ्नो माओवादी केन्द्र पनि बिस्तारै एमालेकरण हुन लागेको दोहोर्याउँदै प्रचण्डले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गरेका हुन् ।
‘हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुन थाल्यो, एमाले जस्तो जस्तो, झुटमुट, बेइमानी, जालझेल, ठगठाग, भ्रष्टाचार, पद जसरी पनि प्राप्त गर्ने, गुटैगुट एमाले भन्या त्यही हो’, प्रचण्डले भने, ‘केपी ओली छन् नि झुट बोल्न, त्यत्तिको सिपालु मानिस सायद नेपालमा अरू छैन ।’

यस्तै एमाले अध्यक्ष ओली धोका चाहिं आफूले दिने तर अरूलाई धोकेवाजको आरोप लगाउने प्रवृत्तिको मान्छे भएको आरोप पनि प्रचण्डले लगाएका छन् । ‘धोका चाहिँ आफू दिने धोकैधोकाको छ तिनको जीवन, तर बडो सजिलैसँग अरूलाई धोकेवाज भन्छन्’, ‘प्रचण्डले भने, हो त्यस्तो खालको, पद प्रतिष्ठाका लागि सिद्धान्त, विचार निष्ठा भन्ने कुरा चाहिँ पोलेर खान एकछिन पनि गाह्रो नमान्ने मान्छेको जमात रहेछ त्यहाँ ।’ अध्यक्ष ‘प्रचण्ड’ ले माधव नेपाल र झलनाथ खनाल ‘ठीक ट्रयाक’ मा हिंड्न जमर्को गरिरहेको र आफूहरुले पनि सहयोग गरिरहेको बताए । तर आफूलाई वैचारिक ठान्ने नेताहरुले केपी शर्मा ओली समक्ष ‘आत्मसमर्पण’ गरेको प्रचण्डले बताए ।

आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूहरुले गरेको ‘मेहनतको फल’ लागेको बताए । प्रचण्डले भने, ‘हामीले धेरै मेहनत पनि गर्‍यौं । हुन त मेहनतको फल लाग्या पनि छ । अहिले झलनाथ, माधव जस्ता पुराना पिंढीका साथीहरु ठिकै ट्रयाकमा अगाडि बढ्न जमर्को गरि पनि राख्नुभाछ हामीले ठूलो सहयोग गरेका पनि छौं ।’

खनाल नेपाल पक्षको एउटा खेमाले भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘आत्मसमर्पण’ गरेको प्रचण्डले बताए । उनले थपे, ‘तर, फेरि जसले आफूलाई अलि वैचारिक भन्थे ती मान्छेहरु सबैले आत्मसमर्पण गरे । केपीको निरंकुशता पनि थाहा छ तिनीहरुलाई ।’ उनले ओलीलाई जालीझेली र भ्रष्ट भएको आरोप पनि लगाए ।