मन्त्रिपरिषद विस्तारका लागि सत्ता गठबन्धनमा रहेका शीर्ष नेता आज (सोमबार) विहानैदेखि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा मन्त्रालयको भागबण्डा टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा बसेका हुन् ।

बैठकमा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन् ।

आइतबार बिहान र साँझ दुई पटक बैठक बसे पनि मन्त्रालय भागबण्डाका विषयमा सहमति नजुटेपछि अहिले पुनः गठबन्धनका नेताहरूको बैठक बसेको हो । प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको जानकारी गराएका छन् ।

गठबन्धनका दलबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेहरूको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूको टुङ्गो लगाउने जिम्मा अध्यक्ष नेपाललाई हिजै दिइसकेको छ ।

यस्तै जसपाले आजै बैठक बसेर नाम टुङ्गो लगाउने स्रोतले जनाएको छ । जसपामा राजेन्द्र श्रेष्ठले सरकारको नेतृत्व गर्ने सम्भावना उच्च छ । यस्तै मोहम्मद इस्तियाक राई, महेन्द्र राय यादव र रेनु यादव फुलमन्त्री हुनेछन् । जसपाले ४ मन्त्री र एक राज्यमन्त्री पाउने लगभग समझदारी छ ।