नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ संसदीय दलको नेता चयन भएका छन्। वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्बतसम्म रुपमा चयन भएका हुन्। उनलाई आजै प्रदेश १ को मुख्यमन्त्री बनाइँदैछ।

यसअघि माधवकुमार नेपाल समूहमा लागेका उनी एमालेमै बसेपछि प्रदेश १ को मुख्यमन्त्री हुन लागेका हुन्। राईले आफ्नो सत्ता यात्रालाई टुंगोमा पुर्‍याउन बिहीबार बिहानका लागि एमाले प्रदेश १ संसदीय दलको बैठक विराटनगरमा राखेका छन्। आचार्यलाई दलको नेता बनाउन बुधबारै संसदीय दलको बैठकका लागि ठीक पर्नु भन्ने जानकारी प्रदेशका एमालेका सांसदलाई नेतृत्वले दिइसकेको थियो।काठमाडौंमा केन्द्रीय कमिटी बैठक समेत रहेकाले त्यस अगाडि पार्टीको द्वन्द्व सकिएको सन्देश दिने गरी आचार्यलाई दलको नेता बनाएर मुख्यमन्त्रीमा लैजान लागिएको हो।

 

आचार्य यसअघि राईसँगै दलको नेताको चुनावमा पराजित भएका थिए। राईले मुख्यमन्त्रीबाट आजै राजीनामा दिएपछि आचार्यले मुख्यमन्त्रीको सपथ लिँदैछन्।आचार्यलाई मुख्यमन्त्री बनाएर सत्ता हस्तान्तरण गर्नेबारेमा राईले बुधबार काठमाडौं बसेर एमाले शीर्ष नेतृत्वसँग छलफलमा गरेका थिए। आचार्यलाई सत्ताको चाबी बुझाउन राई बिहीबार बिहानै जहाजबाट बिराटनगर गएका थिए। त्यहाँ पुगे लगत्तै उनले आचार्यलाई सत्ताको बागडोर सुम्पिने गरी दलको नेता बनाएका हुन्।