अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानसँगको थप तनावको पक्षमा नरहेको संकेत गरेका छन् । ट्रम्पले इरानमाथि थप सैन्य कारबाहीको घोषणा गर्ने अनुमान भइरहेको बेला अहिले इरान पछि हटेको र याे सबै पक्षका लागि राम्रो र संसारका लागि झनै राम्रो भएको बताएका हुन् ।

गएराती इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य शिविरमा २२ मिसाइल प्रहार गरेपछि मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरान यतिबेला गलेको र थप तनाव नचाहेको जस्तो देखिएको बताए ।

गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएको थियो । जवाफमा इरानले मंगलबार राति इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जनभन्दा बढी मिसाइल हमला गरेपछि द्वन्द्व चर्किएको थियो । यो तनावपछि राष्ट्रपति ट्रम्पको यो पहिलो आधिकारिक सम्बोधन हो ।

 

राष्ट्रपति ट्रम्पले इरानमाथि थप सैन्य कारबाहीको घोषणा गर्ने अनुमान भइरहेको बेला उनले सम्बोधनमा भनेका छन्,‘अमेरिकी सेना सबैखाले परिस्थितीसँग जुँध्न तयार छ तर इरान युद्धको मानसिकता छाडेको जस्तो देखिएको छ ।’

राष्ट्रपति ट्रम्पले इरानसँग अहिले देखिएको समस्याको शान्तिपूर्ण समाधानका लागि आफू तयार रहेको बताए । तर, इरानलाई आणविक हतियार विकास गर्न कुनै पनि हालतमा नदिने बताए । उनले भने, ‘म राष्ट्रपति भएसम्म इरानलाई कुनै पनि हालतमा पनि आणविक हतियार राख्ने अनुमति दिइने छैन ।’

इरानले गरेको आक्रमणमा अमेरिकाका कुनैपनि सैनिकको हताहत नभएको उनले बताए । ‘अमेरिकी सैनिक अड्डामा केही सामान्य क्षति भयो। तर कोही हताहत भएनन्,’ उनले भने। आफूले चाहेको खण्डमा इरानलाई समाप्त गर्ने क्षमता भएको बताउँदै अमेरिकी राष्ट्रपतिले आफूले सो गर्न नचाहेको र अहिलेको समस्या समाप्त गर्न चाहेको बताएका छन् ।

ट्रम्पले गत साता अमेरिकी कारबाहीका क्रममा मारिएका इरानी सैन्य कमाण्डर सुलेमानी ‘विश्वकै शीर्ष आतंककारी’ भएको बताएका छन् । उनले भने, ‘उनले आतंककारी सेनालाई तालिम दिने र युद्धमा पठाउने काम गर्थे । उनले हजारौं अमेरिकी सेनाको हत्या गरेको र घाइते पारेका थिए । यससँगै उनले सडक छेउमा बम राख्‍ने कामसमेत गर्थे ।’ इरानी सैनिक कमान्डर सुलेमानीलाई पहिले नै मारिनुपर्ने पनि उनले बताए।

सम्बोधनमा उनले अमेरिकालाई मध्यपूर्वको तेल आवश्यक नभएको पनि तर्क गरे । अमेरिका अहिले इन्धन र ग्यास उत्पादनमा विश्वकै नम्बर १ उत्पादक रहेको बताउँदै इरानविरुद्धको यो कारवाही तेलका लागि नभएको जिकिरसमेत गरे ।

उनले इरानी जनतालाई सन्देश दिँदैहरेक घरमा समृद्धि र संसारका राष्ट्रहरुसँग सद्भावको कामना समेत गरे । भने, ‘इरानी जनता र नेताहरु तपाईंहरुको भविष्य छ, राम्रो भविष्य छ र त्यो तपाईंले पाउनुपर्छ । हरेक घरमा समृद्धि र संसारका राष्ट्रहरुसँग सद्भाव होस् भन्‍ने चाहन्छौं ।’