नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पुनर्गठन गर्दै नयाँ पार्टी गठन गरेको बताएका छन्। नेकपा एकीकृत समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष नेपालले पार्टी एकताका सबै ढोका बन्द भएपछि बाध्य भएर नयाँ दल गठन गर्नुपरेको उल्लेख गरेका छन्।
‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका छौं,’ उनले फेसबुकमार्फत् जारी गरेको धारणामा उल्लेख छ।
उनले जनताबाट सकरात्मक सहयोगको अपेक्षा पनि गरेका छन्। ‘नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलनमार्फत् चाहेको संस्कृति एवं समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकरात्मक सहयोगको अपेक्षा गर्दछौं,’ उनले भनेका छन्।
उनले हाललाई नयाँ दलमा साविक नेकपा एमालेका केन्द्रीय कमिटीमा रहेकाहरू, विद्रोहका पक्षमा हस्ताक्षर गर्नेहरू र २०७५ जेठ ३ गते पार्टी एकता गर्ने बेला आफ्नो तर्फबाट थपिएकाहरूलाई मात्र समावेश गरिएकोमा अब थप केन्द्रीय सदस्य बनाउने पनि बताएका छन्।
एकीकृत समाजवादीमा केन्द्रीय सदस्य ९५ सदस्यीय प्रस्ताव छ। राष्ट्रिय भेला तथा सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने अध्यक्ष नेपाल बताउँछन्। ‘अहिले समावेश गर्न नसकेका अनुभवी एवं योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौं,’ उनले भनेका छन्।
नेपाललाई खनालको साथ
अध्यक्ष नेपाललाई पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालले नयाँ पार्टी गठनमा साथ दिएका छन्। नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खनालले नेता नेपाललाई साथ दिने निर्णय लिएका हुन्। ‘भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं,’ खनालको सचिवालयले भनेको छ।









