राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्।बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। उनले १ बजेर १० मिनेटमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले सेतोपाटीलाई बताए।

सरकारले मंगलबार अध्यादेश ल्याएको थियो। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमा छ।

मंगलबार बसे मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरी अध्यादेश ल्याएको थियो।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले यस्तो अध्यादेश जारी भए प्रतिवाद गर्ने चेतावनी दिएको थियो। आफ्नो पार्टीमा विवाद भइरहेका बेला बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको अध्यक्ष केपी शर्मा ओली पक्षको बुझाइ छ।

संसदको चालू अधिवेशन हठात् अन्त्य गरी सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश तीव्र आलोचना भइरहेको छ।  सत्तारूढ नेपाली कांग्रेसका नेतादेखि गठबन्धनको पार्टी जनता समाजवादीका शीर्ष नेता बाबुराम भट्टराईले पनि अध्यादेशको विरोध गरेका छन्।