३० साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित आफूनिकट वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा उनले अध्यक्ष ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको भन्दै आफूहरु लुरुक्क परेर जाने स्थिति नभएको बताएका हुन् ।
नेता नेपालले ओली पक्षका केही नेताले पार्टी एकताका नाममा सदस्यता नवीकरण र विधान महाधिवेशन रोक्न सकिने भने पनि महासचिवले हामी अघि बढिसक्यौं, आउने आउँछन्, नआउने आउँदैनन् भनेको पनि बताए । ‘के हामी लुरुक्क परेर जाने हो ? समर्पण गर्न जाने हो ? होइन’ उनले भने ।
अध्यक्ष ओलीले हालसम्म गरेका कुनै निर्णयबाट पनि पछि नहटेको र कुनै निर्णय पनि फिर्ता नभएको नेता नेपालले बताए ।









