काठमाडौं, २५ साउन । नेकपा एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक डाकेका छन् ।

स्थायी कमिटी बैठक पछि आजै दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने जनाइएको छ । बैठकमा एमालेको विधान महाधिवेशन, पार्टी एकतालगायत विषयमा छलफल हुने जनाइएको छ । एमाले विधान संशोधन दस्तावेज आज शुरुमा बस्ने स्थायी कमिटीमा पेश हुने र स्थायी कमिटीले अनुमोदन गरेपछि उक्त विधान संशोधन केन्द्रीय समिटीमा पेश गर्ने कार्यसूची रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

एमाले लामो समयदेखि आन्तरिक विवादमा छ । आन्तरिक विवाद उत्कर्षमा पुग्दा पार्टी विभाजनको संघारमा छ । झलनाथ खनाल र माधव नेपालले एमालेको एउटा पक्षको नेतृत्त्व गरेका छन् भने केपी शर्मा ओलीले अर्को पक्षको नेतृत्व गरेका छन् । पार्टी विभाजनको संघारमा पुगेर समानान्तर कमिटी खडा गरिए पछि एकताका लागि भन्दै विवाद समाधान कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलले सहमतिका लागि १० बुँदे प्रस्ताव गरे पनि माधव नेपाल उक्त प्रस्तावमा विश्वास गरेर अगाडि बड्न नसकिने बताउँदै आएका छन् । केही महिना यता एमालेका दुई समूहका छुट्टाछुट्टै बैठक बस्दै आएका छन् । आजका दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने तामाङले जानकारी दिए ।