सुर्खेत । गत बैशाखको सुरुवातमै कोरोना संक्रमण ह्वात्तै बढ्यो । संक्रमितले अस्पतालहरु भरिए । अक्सिजनको पनि हाहाकार नै भयो । दुर्गमबाट उपचारका लागि सुर्खेत ल्याइएका केही संक्रमितको मृत्यु भयो ।
सक्नेले गाउँमै पु¥याएर दाहसंस्कार गरे । तर विपन्न परिवारलाई सुर्खेतमा आफन्तको शव जालाउनसमेत हम्महम्मे प¥यो । संक्रमण सर्ने डरले वीरेन्द्रनगरमै भएका आफन्त र साथीभाइहरु पनि मलामी बन्न तयार भएनन् । संक्रमितको दाहसंस्कारका लागि सुर्खेतमा नेपाली सेनाको टोलीलाई पनि शव व्यवस्थापनमा हम्मेहम्मे नै भयो ।
लामो समयसम्म निषेधाज्ञा भएपछि शहर झरेकाहरुलाई पनि गाउँ फर्कनुपर्ने अवस्था आयो । कामको शिलशिलामा विभिन्न शहरमा झरेकाहरु जसरी पनि गाउँ फर्कन चाहन्थे । त्यसमध्ये कोही बाटोमै विचल्लीमा परे । बाटोमा यात्रुको विचल्ली, अस्पतालका बेडहरुमा संक्रमितहरुको छटपटी । यही दर्दनाक पीडाको बिचमा जन्मियो कर्णाली स्वयम्सेवक दल ।
कोरोना महामारी न्यूनिकरण, रोकथाम, नियन्त्रण र प्राकृतिक विपत्तिमा निःशुल्क रुपमा सामाजिक सेवामा खटिने उद्देश्यले गठित कर्णाली स्वयम्सेवक दल हिजोआज विपद्को सारथी बनेको छ । सुरुमा कोरोना महामारी न्यूनिकरण, रोकथाम तथा नियन्त्रणमा जुट्ने उद्देश्यले गठन भएको स्वयम्सेवक दल हिजोआज समुदायका हरेक सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ ।
दलले पछिल्लो समय कोरोना महामारी नियन्त्रणसहित, छाडा पुशचौपायाको उद्दार, रक्तसञ्चार प्रवाह, बाढीपहिरो जस्ता विपद्का घटनामा उद्दार र राहत जस्ता कार्यहरुमा सक्रिय बनेको हो । ‘निषेधाज्ञा भएको बेला यात्रु सहायता कक्ष नै स्थापना ग¥यौं, जिल्ला प्रशासनसँग समन्वय गरेर अलपत्र परेका यात्रुलाई पनि सम्बिन्धत ठाउँमा पु¥यायौं’ कर्णाली स्वयम्सेवक दलका सहसचिव प्रवाशकुमार शाक्यले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि अहिले यात्रु सहायता कक्ष भने हटाएका छौँ ।’
बसपार्कमा यात्रु सहायता कक्ष नै स्थापना गरेर स्वयम्सेवक दलले पहाडी जिल्ला (दैलेख, कालीकोट, जुम्ला र मुगु) का यात्रुहरुलाई गन्तव्यमा पु¥याउने काम गरेको थियो । निषेधाज्ञा हटेसँगै यात्रु सहायता सेवा भने हटाइएको हो ।
शव व्यवस्थापन र पशुको उद्दार
कर्णाली स्वयम्सेवक दलले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन पनि गरेको छ । संक्रमणपछि उपचारका लागि वीरेन्द्रनगर आएका र मृत्यु भएका सुर्खेत, सल्यान र जाजरकोटका व्यक्तिहरुको शव व्यवस्थापन गरेको हो ।
मृत्युपछि आफन्तले शव गाउँमा लैजान र सुर्खेतमै दाहसंस्कार पनि गर्न नसक्ने भएपछि स्वयम्सेवक दलले दाहसंस्कारमा सहयोग गरेको हो । दाहसंस्कारमा लाग्ने सम्पूर्ण खर्ज स्वयम्सेवक दल आफैले बेहोरेको छ । तर कोरोना संक्रमण सामान्य भएसँगै हालः नेपाली सेनाले शव व्यवस्थापनमा गर्दै आएको छ । हाल स्वयम्सेवक दलले वीरेन्द्रनगरमा छाडा पशुचौपायाको व्यवस्थापनमा काम गर्दै आएको छ ।
वीरेन्द्रनगरका सडकमा छाडा छोडिएका पशुचौपायाको व्यवस्थापन र घाइतेहरु पशुको उद्दार गर्दै आएको दलका सहसचिव शाक्यले बताए । छाडा पशुचौपायाको कारण सवारी साधनको दुर्घटना बढेको भन्दै स्वयम्सेवक दल व्यवस्थापनमा जुटेको हो । दलले हालसम्म दर्जन भन्दा बढी घाइते अवस्थामा रहेका पशुचौपायाको उपचार र उद्दार गरिसकेको छ ।
सामुदायिक मेलमिलाप चौतारी निर्माण
कर्णाली स्वयम्सेवक दलले दाताको सहयोगमा सामुदायिक मेलमिलाप चौतारीसमेत निर्माण गरेको छ । जिल्ला प्रहरी कार्यालय अगाडी मेलमिलाप चौतारी निर्माण गरिएको हो । प्रहरी कार्यालयमा सेवा लिन आउनेहरुको सहजताका लागि चौतारी निर्माण गरिएको हो । मेलमिलाप चौतारी निर्माण गरिएको स्थान सार्वजनिक जग्गामा हो ।
एकलाख ९० हजारको लागतमा चौतारी निर्माण गरिएको हो । चौतारी निर्माणका लागि लक्ष्मण कँडेल, लालबहादुर बुढा, अरुण रन्जितकार, टेकबहादुर थापा, बखतबहादुर शाही, सुदर्शन श्रेष्ठ र कर्णबहादुर क्षेत्रीले सहयोग रकम उपलब्ध गराएका थिए । सोही रकमबाट निर्माण सामग्री खरिद गरिएको हो । जहाँ स्वयम््सेवक दलका सदस्यहरुले पनि श्रमदान गरेको थिए ।
शाखा विस्तार हुँदै
कर्णाली स्वयम्सेवक दलले कालीकोट र सल्यानमा पनि आफ्नो सञ्जाल विस्तार गर्ने तयारी गरेको छ । सामाजिक न्यायमा सेवा पु¥याउने उद्देश्यले सञ्जाल विस्तार गर्न थालिएको दलले जनाएको छ । कर्णालीका सबै जिल्ला र स्थानीय तहसम्म सञ्जाल विस्तार गर्ने उद्देश्यले केही हप्तामै सल्यान र कालीकोटमा सञ्जाल विस्तार गर्न लागिएको हो । कोरोना महामारी नियन्त्रण, विपद् व्यवस्थापन जस्ता सामाजिक कार्यमा रुचि भएका युवाहरुलाई स्वयम्सेवक दलमा समेटिने छ ।
वीरेन्द्रनगरमा रहेर सामाजिक कार्यमा सक्रिय युवाहरु मिलेर कर्णाली स्वयम्सेवक दल गठन गरिएको हो । सुरुवातमा शुदर्शन श्रेष्ठको अध्यक्षतामा ११ जनाबाट दल स्थापना भएकोमा हाल २० जना युवाहरु संगठित भइसकेका छन् । स्थानीय युवा सुदर्शन श्रेष्ठले यसको नेतृत्व लिएका छन् । मुनाफारहित संस्था औपचारिक रुपमै जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको छ ।
प्रदेशभर रगतको सहज आपूर्ति गरिने
कर्णाली प्रदेशमा रगतको सहज आपूर्ति छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र सिमित जिल्ला अस्पतालमा मात्रै रगत उपलब्ध हुन्छ । भौगोलिक विकटताका कारण चाहेको समयमा रगत पाउन हम्मेहम्मे पर्छ ।
रगत नहुँदा सुत्केरी, विभिन्न दुर्घटना घाइतेको उपचार र नियमति रगत चढाउनुपर्ने विरामीले रगतको अभाव भोग्दै आएका छन् । यही समस्यालाई मध्यनजर गर्दै कर्णाली स्वयम्सेवक दलले केएफसी ब्लड डोनेशन एप निर्माण गरेको छ । यही एपको प्रयोगबाट चाहिएको रक्त समूह र रत्तदान गर्न माग गर्न सकिनेछ ।
रगत माग भएको खण्डमा स्वयम्सेवक दलले विरामी रहेकै स्थानमा रगत उपलब्ध गराउनका लागि समन्वय गरिदिने छ । प्रदेशका विभिन्न जिल्लामा रहेको रेडक्रससँग समन्वय गरेर रगतको उपलब्धतालाई सहज बनाउने छ
#युगआह्वानबाट









