हिमपातका कारण मध्य पहाडी लोक मार्ग अवरुद्ध भएको छ । बुधवार रातीबाट भएको हिमपातका कारण मध्य पहाडी लोक मार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ रिन दह क्षेत्रमा सवारी आवागमन बन्द भएको हो । बाक्लो हिमपात भएका कारण लोक मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अवरुद्ध लोक मार्ग खुलाउने प्रयास भए पनि सफल नभएको प्रहरीले जनाएको छ ।

बाक्लो हिमपातको कारण सडक खण्ड अवरुद्ध भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त र जिल्ला प्रहरी प्रमुख नमराज भट्टराई सहित १७ जनाको प्रहरी टोली उक्त क्षेत्रमा गई जेसीभी लगाएर हिउँ हटाउँदा समेत अत्यधिक हिमपातका कारण बाटो खुलाउन सफल नभएको प्रहरीको भनाई छ । बाटो खुलाउन सफल नभएपछि यात्रुहरूलाई अर्को गाडीमा मेल गरेर पठाइएको बताइएको छ ।

घाम नलाग्दासम्म बाटो खुल्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयले फेसबुक मार्फत जानकारी गराएको छ । यो मार्ग भएर सङ्घीय राजधानी काठमाडौँ जाने तथा आउने र मुख्य गरी रुकुम पश्चिम र पूर्वका विभिन्न ठाउँमा आऊ जाऊ गर्ने सवारी साधन रोकिएका छन् ।

लामो समय पछि पानी र हिउँ पर्दा किसान भने हर्षित भएका छन् । हिमपात र वर्षाका कारण चिसो अत्यधिक बढ्दा जनजीवन भने प्रभावित भएको छ । मुख्य गरी भूकम्प प्रभावित समस्यामा परेका छन् । अझै पनि धेरै प्रभावित पालमा रहेकोले चिसोका कारण उनीहरूलाई समस्या बनाएको छ ।