रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आजबाट तेस्रो वृहत् चौरजहारी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन चौरजहारी नगरपालिकाका  नगर प्रमुख पुष्प बादीले गर्नुभयो । आजबाट सुरु भएको महोत्सव आगामी २५ गतेसम्म सञ्चालन हुने महोत्सव मूल समारोह समितिका अध्यक्ष एल वि कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार आज पहिलो दिन स्थानीय स्तरका कलाकार, स्थानीय झाँकी, मयुर नाच, झाँक्री नाच प्रदर्शन गरिएको थियो ।

मंगलबार भने महोत्सवमा बाल गायक सुप्रिम मल्ल र डान्सर एन्जिला श्रेष्ठसँगै स्थानीय कलकारको प्रस्तुति रहने बताइएको छ । प्रवेश शुल्क १ सय तोकिएको छ । महोत्सवमा स्थानीय व्यापारीलाई स्टलका लागि २५ प्रतिशत छुट दिइएको छ । महोत्सवमा १ सय २० वटा स्टल रहेका छन् । ‘‘पर्यटन, कृषि व्यापार हाम्रो योगदान कला र संस्कृति चौरजहारीको पहिचान’’ भन्ने मूल नाराका साथ महोत्सव सुरू भएकाे हो ।

चौरजहारी नगरपालिका वडा नम्बर २ स्थित रगंशालामा सुरु भएको महोत्सव १२ दिनसम्म चल्ने र आगामी २५ गते सम्पन्न हुने छ । चौरजहारीको कृषि, पर्यटन तथा कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष कटुवाले जानकारी दिनुभयो । महोत्सवमा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार, इन्द्रेणी समूह र स्थानीय कलकारहरूको प्रस्तुति रहने बताइएको छ ।

महोत्सव सहिद स्मृति कला सांस्कृतिक संरक्षण केन्द्र चौरजहारीले आयोजना गरेको हो । महोत्सव मूल समारोह समितिका अध्यक्ष कटुवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाले गर्नुभएको थियो ।