रुकुम पश्चिम, हिन्दु परम्परा अनुसार मानिसको मृत्युपछि गरिने शुद्धि कार्यमा गहुँत खाएको गाई मरेपछि गहुँत खाएका मृतकका आफन्तजनमा अर्को त्रास फैलिएको छ । चौरजहारी नगरपालिका–९ माझमेलाका भीम कुँवरको शुद्धि कर्ममा गहुँत खाएको गाई रेबिजको लक्षणसहित मरेपछि त्रास फैलिएको हो ।

रेबिजको त्रासमा रहेका ३६ जनालाई चौरजहारी नगरपालिकाले रेबिजविरुद्धको खोपसमेत लगाएको छ। शुद्धि कार्यमा संलग्न पुरोहित नारायणप्रसाद शर्माका अनुसार भीम कुँवरको मृत्युभएको तीन दिनपछि मङ्गलबारका दिन मृतकका छोरी, बहिनी, ज्वाइँ, भान्जाभान्जीलगायतले शुद्धि कार्यका लागि गहुँत खानुभएको थियो । गहुँत खाएको रातिदेखि बौलाउन सुरु गरेको उक्त गाई शुक्रबार मरेपछि त्रास सिर्जना भएको शर्माले बताउनुभयो ।

गाई बौलाएको बेला चौरजहारी नगरपालिकाबाट आएको पशु सेवा प्राविधिकको टोलीले सबै लक्षण रेबिज रोगसँग मिल्ने बताएपछि डर पैदा भएको उहाँको भनाइ छ । “मेरो पनि हातमा घाउ थियो, गहुँत दिँदा घाउमा पर्ने र रोग सर्ने डर भएकाले रेबिजविरुद्धको खोप लागाएँ,” पुरोहित शर्माले भन्नुभयो, “मसँगै नगरपालिका गएर मृतकका सबै आफन्तले खोप लगाएका छौँ ।”

चौरजहारी नगरपालिका पशु सेवा शाखाका प्रमुख गणेश बुढा मगरले शुक्रबार दुई जना र शनिबार ३४ जना गरेर ३६ जनालाई रेबिजविरुद्धको खोप लगाएको जानकारी दिनुभयो । उहाँका अनुसार गाई बौलाएको भन्दै खबर आएपछि बिहीबार नगरपालिकाबाट लक्षण जाँच गरिएको थियो । उहाँले सबै लक्षण हेर्दा रेबिज नै भएको बताउनुभयो ।

बाँधेको खाँबो टोक्ने, पानी दिँदा तर्सिने, कुकुर जसरी कराउने, मानिसलाई झम्टने, मुखबाट र्‍याल छोड्ने जस्ता लक्षण उक्त गाईमा थियो । गाई मरेपछि सुरक्षित रूपमा गाडिएको उहाँले बताउनुभयो । रेबिज लागेको गाईको गहुँत खाँदा रेबिज सर्ने कुनै पुष्टि नभए पनि मृतकका आफन्तजनमा मानसिक त्रास सिर्जना भएपछि ढुक्क हुन रेबिजविरुद्धको खोप लगाइएको उहाँले जनाउनुभयो ।

चौरजहारी नगरपालिकामा उपलब्ध भएका र स्वास्थ्य सेवा कार्यालयबाट थप खोप ल्याएर खोप लगाइएको हो। थप डोजका लागि सुर्खेतबाट खोप मगाइएको पशु सेवा शाखा प्रमुख बुढाले जानकारी दिनुभयो ।

#मुलपाटिबाट साभार