रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ बोहरागाउँमा अटो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । खलङ्गाबाट सोलावाङ तर्फ जाँदै गरेको रा १ ह ७३०९ नम्बरको अटो दुर्घटना हुँदा ४ बालबालिका सहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा मुसिकोट नगरपालिका ११ का ३० वर्षीय मञ्जु ओली, उहाँका छोरा ४ वर्षीय लक्की बुढा, सोही वडाका २५ वर्षीय कृष्ण बिक, २४ बर्सिया टीका ददेल, उहाँको १५ महिनाको छोरा नुवाक शेर्पाली, मुसिकोट ४ की अर्चना सन्यासी, उहाँका ४ वर्षीय छोरा डिसिजन खड्का र उहाँकै १७ महिनाकी छोरी बेनिका खड्का रहनुभएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको र खलङ्गाको साझा मुराल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । अटो चालक मुसिकोट ४ का ३३ वर्षीय मनिराम कामी र अटोलाई नियन्त्रणमा लिइएको डिएसपी भट्टराईले जानकारी गराउनुभयो ।

अटो अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्षमता भन्दा बढी यात्रु राखिएका कारण अटो दुर्घटना भएको देखिएको छ । यसअघि क्षमता भन्दा बढी यात्रु राखिएकै कारण मुसिकोट ३ को माछिमीमा पनि अटो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पनि ८ जना घाइते भएका थिए ।

#कखराबाट