नयाँ शहर आयोजना चौरजहारी अन्तर्गत चौरजहारी नगरपालिका १ र २ मा सडक कालोपत्रको काम सुरु भएको छ ।

मंगलबारबाट वडा नम्वर १ को खोलीबजार देखि बसपार्क र वडा नम्वर २ को त्रिवेणीदेखि वडा कार्यालयसम्म कालोपत्रको काम सुरु भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी खिम बहादुर चन्दले आयोजना अन्तर्गतको २.७ किलोमिटर सडक खण्डमा कालोपत्रको काम सुरु भएको बताउनुभयो । क्याराभान कन्ट्रक्सन प्रा.लि.ले उक्त कामको जिम्मा पाएको थियो ।

सूचना अधिकारी चन्दले निर्माण कम्पनीले उक्त कामको लागि २०७८ पुस २० गते कार्यालयसँग सम्झौता गरेको छ । चार करोड १९ लाख रुपियाँमा उक्त कामको लागि सम्झौता भएको छ ।

अहिले खोलिबजार देखि लामिछाने गाउँ हुँदै बसपार्कसम्म कालोपत्रको काम तिब्र रुपमा भईरहेको छ । यस अघि चौरजहारी अस्पताल देखि नाखिरा गाउँछेउसम्म कालोपत्रे भैसकेको छ ।

सडक कालोपत्रे हुन थालेपछि स्थानीयवासीहरु खुसी भएका छन् । स्थानीय अर्जुन लामिछानेले हिलाम्मे र धुलाम्य सडक कालोपत्रे हुन थालेपछि गाउँवासी हर्षित भएको बताउनुभयो । उहाँले कालोपत्रेको काम गुणस्तरीय र समयमै हुनुपर्ने समेत जनाउनुभयो ।

यसअघि निर्माण कम्पनीले सडक निर्माणको काम समयमै नगरेपछि स्थानीय आक्रोशित बनेका थिए । बिशेष गरेर सडकको धुलोका कारण जनस्वास्थ्यमा असर परेको भन्दै विरोध हुन थालेपछि केहि समय पानी छर्केर समस्या समाधान गर्ने कोशिस भएको थियो ।