रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित बराहटाकुरामा भोलि शुक्रबारदेखि रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।

 

रुकुम पश्चिम समृद्धिको आधार, कला सस्कृति, पर्यटन विकास र उद्योग व्यापार भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाममा महोत्सव आयोजना गरिएको हो ।

 

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा महोत्सव हुन थालेको हो ।

 

महोत्सव मूल आयोजक समितिका संयोजक डिल्ली परियारका अनुसार मेलाको तयारी करिब पुरा भएको छ । कलाकार आउने कुरा देखि प्रचारप्रसार, महोत्सव स्थलमा व्यवस्थापनको काम पुरा भएको उहाँले बताउनुभयो ।

 

महोत्सवस्थलमा बनाईएका एक सय वटा स्टलहरु बुकिङ भईसकेको समेत बताईएको छ । स्टलहरुमा आज दिनभर विभिन्न व्यापारीहरुले सामानहरु ल्याईसक्ने बताईएको छ ।

 

संयोजक परियारले महोत्सव स्थल नजिकै झोलुङ्गे पुल माथि रहेको पिङ पनि भोलि देखि सञ्चालनमा ल्याउने गरेर काम भैरहेको जनाउनुभयो । पिङ सञ्चालन पनि मेलाको थप आकर्षण हुने उहाँको भनाई रहेको छ ।

 

महोत्सवस्थलमा स्टल र मञ्चको तयारी भैसकेको र सजावटको काम भैरहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति, लाईभ दोहोरी र विभिन्न किसिमका स्टलहरु रहने आयोजकले जनाएको छ ।