चौरजहारीमा संचालित रुकुम पश्चिमको १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आठबीसकोट नगरपालिकाले जितेको छ । ४ स्थानीय तहले प्रतिस्पर्धा गरेको शिल्डमा १४ स्वर्ण सहित आठबीसकोटले शिल्ड जितेको हो । शिल्डमा चौरजहारी नगरपालिका दोस्रो भयो । उसले १३ स्वर्ण पदक जित्यो ।

 

२ वटा स्वर्ण पदक जितेको बाँफिकोट गाउँपालिका तेस्रो भएको आयोजक जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरी गाउँपालिका चौंथो भयो । तर उसले स्वर्ण पदक भने जित्न नसकेको ढकालले बताउनुभयो ।

 

चौरजहारी २ को शितल माविमा १२ गते सुरु भएको शिल्ड आज सम्पन्न भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले उद्घाट गरेको शिल्डको आज चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले समापन गर्नुभयो । शिल्डमा ४ वटा स्थानीय तहका करिब २ सय विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

 

पालिका स्तरीय शिल्ड संचालन नगरेकोले जिल्लाको मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले भने शिल्डमा सहभागी हुन पाएनन् । पालिकाको वेवास्ताका कारण यि दुई पालिकाका विद्यार्थीहरु शिल्डबाट बञ्चित हुन पुगे । समग्रमा १३ औं संस्करण भएपनि स्थानीय तह बनेकोपछिको यो दोस्रो संस्करण हो ।

 

स्थानीय तहले शिल्ड संचालन नगर्दा जिल्ला स्तरीय शिल्ड नियमित रुपमा संचालन हुन सकिरहेको छैन् ।।

#कखराबाट