चौरजहारी नगरपालिकामा बहुक्षेत्रीय पोषण योजना सम्वन्धी एकदिवसीय अभिमुखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा पोषण, कुपोषण, खानेकुरा खानाका प्रकार लगाएतका विषयमा जानकारी दिइएको थियो ।

 

नगरपालिकाले कुपोषण मुक्त पालिका बनाउन वडातहमा उमेर समुहका बालबालिकाको तथ्याङ्क सङ्कलन गरी पालिकामा तथ्याङ्क राख्ने र कुपोषण हुनबाट बचाउन नगरपालिकामा सचेतनामुलक कार्यक्रम गर्ने लगाएतका विषयमा छलफल समेत भएको थियो ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख पुष्प बादीले वडातहमा वडाका जनप्रतिनिधिहरुले अनुगमन तथा सहजिकरण गर्ने, पोषण युक्त खाद्य उत्पादनको लागी कृषकलाई कृषि तथा पशु शाखाले प्रोत्साहन गर्ने बताउनुभयो । कार्यक्रममा सहजीकरण भएका सुचकहरु हामीहरु कै बिचमा रहेकोले व्यावहारीक पक्षको सुधार गर्ने, सन्तुलित आहारको सन्दर्भमा आमनागरिकमा ज्ञान दिन सबै लाग्नु पर्ने बताउनु भयो । सुनौलो १००० दिनका आमा,बच्चा र किशोरकिशोरीहरुको समग्र स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउन जनप्रतिनिधि र सम्बन्धित शाखा प्रमुखहरु सहितको कार्यक्रममा बालबालिका तथा सुत्केरी महिलाको पोषणमा प्राथमिकता दिने प्रतिवद्वता समेत जाहेर गर्नुभयो ।

 

नगर उप प्रमुख इश्वरी शर्मा विएमले नगरपालिकामा निर्माण हुने वार्षिक,आबधिक तथा क्षेत्रगत निति,बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बहुक्षेत्रिय पोषण कार्यक्रमलाई प्राथमिकताका साथ समाबेस गरी १००० दिनका आमा,बच्चा र किशोरकिशोरीहरुको स्वास्थ्यमा सुधार ल्याउनु पर्ने बताउनुभयो ।

 

यस्तै कार्यक्रममा नि. प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले पोषणको सन्तुलनका लागी लोकल अर्गानिक उत्पादन भएका खाद्य पदार्थको उत्पादन र प्रयोग गर्न पालिकाले प्रोत्साहन गर्ने बताउदै बालबालिकालाई कुपोषण हुनबाट बचाउन नियमीत खाने खाना पोषण युक्त हुनु पर्नेमा जोड दिनुभयो ।