नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकुमार शर्मा ‘आर्ट’ले माओवादी पार्टीले रुकुममा अघिल्लो चुनाव भन्दा पनि फराकिलो मतान्तरले जित्ने दाबी गर्नुभएको छ ।

प्रदेश सभा ख बाट उम्मेद्वार सिफारिस भएपछि पहिलो औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई तिहाईले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभएको हो । उहाँले चुनावलाई केन्द्रमा राखेर कार्यक्षेत्रमा लाग्न कार्यकर्तालाई आह्वान पनि गर्नुभएको छ । पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

पार्टीका केन्द्रिय सदस्य एबम पुर्ब प्रदेश आर्थिक मामिला मन्त्री गोपाल शर्मा ‘अनल’ ले माओवादीको कुनै पनि पार्टी सदस्यलाई जातीय छुवाछूत गर्ने छुट नभएको भन्दै त्यस्तो गरे कार्बाही गर्ने प्रतिबद्वता गर्नुभयो । उहाँले अहिलेको राजनीतिक उपलब्धि माओवादी आन्दोलनका कारण भएको भन्दै उपलब्धिको सहि ढंगले प्रचार हुन नसकेकोमा दु:ख व्यक्त गर्नुभयो ।

पार्टी प्रदेश सदस्य एबम दलित मोर्चाका प्रदेश इन्चार्ज रातो कामी ‘आरटी’ले पार्टी र दलित मोर्चा बैधानिक संघर्शमा रहेको धारणा राख्नुभयो । कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा मन्त्री समेत रहेका नेता कामीले जनयुद्धले संस्थागत गरेका उपलब्धि कार्यान्वयन गर्न संबिधानको अक्षरस : पालना गर्नुपर्ने धारणा राख्नुभयो ।

पार्टी बैकल्पिक केन्द्रिय सदस्य एबम दलित मोर्चाका केन्द्रिय संगठन बिभाग प्रमुख पुष्प बादीले दलित समुदाय र माओवादी पार्टी पर्याबाची भएको दाबी गर्नुभयो । चौरजहारी नगरपालिका प्रमुख समेत रहेका नेता बादीले देशको राजनीतिक परिवर्तनको उपलब्धिको श्रेय माओवादीलाई जाने भनाई राख्नुभयो ।

पार्टी केन्द्रिय सदस्य तथा दलित मोर्चाका प्रदेश संयोजक शान्ता बि.क.ले नेपालमा जातीय छुवाछूत हटेपनि बिभेद हटिनसकेको बताउनु भयो । माओवादी आन्दोलनमा दलित समुदायको र दलित समुदायका लागि माओवादी आन्दोलन अपरिहार्य भएको उहाँको धारणा छ ।

प्रदेश कमिटी सदस्य एबम जिल्ला संयोजक सचिन रोकाले रुकुम जिल्लाको दलित मुक्ति आन्दोलन सफलताको दिशामा अघि बढेको बताउनु भयो । सबैभन्दा बढी दलित समुदायका उम्मेद्वार उठाउने र जिताउने पार्टी माओवादी भएको भन्दै उहाँले जनयुद्धले फ्याकेर अबशेषका रुपमा रहेको जातीय बिभेदको नेतृत्व पनि माओवादी पार्टीले गर्ने दाबी गर्नुभयो ।

प्रदेश कमिटी सदस्य एबम जिल्ला समन्वय समितिका उपप्रमुख दिपेन्द्र बिश्वकर्माले उत्पीडित समुदायको प्रतिनिधित्वको सुरुवात माओवादी आन्दोलनले गरेको बताउनु भयो ।

सहिद प्रतिस्ठान हलमा भएको कार्यक्रमको सहजीकरण नेपाल दलित मुक्ति मोर्चाका जिल्ला संयोजक लालबहादुर सिर्पालीले गर्नुभएको थियो ।।