जिल्ला समन्वय समिति रुकुम पश्चिमको  प्रमुखमा लुम्बिनी गौतम निर्वाचित हुनु भएको छ। मगंलबार मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले समन्वय प्रमुखमा लुम्बिनी गौतम र उप्रमुखमा देवबहादुर कामीलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । प्रमुखमा निर्वाचित भएपछि गौतमले जिल्लाको समग्र विकासमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

जिल्लाका ६ वटै पालिकासितको समन्वयलाई गरेर अघि बढ्ने उहाँको भनाई छ । जिल्लाको विकासमा कहाँ के आवश्यक्ता छ त्यसका आधारमा अघि बढ्नका लागि स्थानीय तहसित समन्वय गर्ने, प्रदेश संघीय सरकारसँग पनि पहल गर्ने उहाँले बताउनुभयो। ‘जिल्लाको समग्र विकासमा क–कसको भूमिका के हुन्छ त्यसकै आधारमा अघि बढौं भन्ने योजना छ,’ गौतमले भन्नुभयो, ‘जसको जे भूमिका हो जे गर्न सकिन्छ त्यसमा ध्यान लाउने गरी कार्यक्रम बनाउन सुझाउनेदेखि समन्वयको पाटोलाई समन्वय गरेर अघि बढिनेछ ।’शान्ति स्थापनापछि जिल्लामा जनताकै सहभागितामा विकासका धेरै काम भएको भन्दै नव निर्वाचित प्रमुख गौतमले अँझ पनि जनताकै सहभागितामा थप काम गर्नका लागि पहल गर्ने समन्वय गर्ने बताउनुभयो ।

समितिको सदस्यहरुमा रामकुमार गौतम, गीताकुमारी केसी, शारदा दमाई, गीता नेपाली, देउभान ओली, मीना बिक र कृष्णबहादुर यरी निर्वाचित हुनुभएको हो । नव निर्वाचित सवैले मंगलबार सपथ ग्रहण गर्नुभएको छ । निर्वाचित प्रमुख, उपप्रमुख सहित ९ पदाधिकारीहरु माओवादी केन्द्रका उम्मेदवारहरु हुन । समन्वय समितिको पदाधिकारीको लागि जिल्लाका अन्य कुनै पनि दलको उम्मेदवारी  नपरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।