पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।
नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ ।
पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर ९एनएईटी विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।
विमानको खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
मौसममा सुधार हुनासाथ हवाइ मार्गबाट खोजी सुरु गरिने र विमानको खोजीका लागि स्थल मार्गबाट नेपाली सेना र नेपाल प्रहरी घोडेपानीतर्फ प्रस्थान गरिरसकेको प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ ।
जल तथा मौसम विभागले आज देशैभरको मौसम खुल्ने सम्भावना न्यून रहेको अनुमान गरेको छ । तीनवटा वायु प्रणाली सक्रिय हुँदा मौसम खुल्ने सम्भावना न्यून रहेको विभागकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
विभागले शनिबार गरेको मौसम पूर्वानुमानले आज मौसम बदली रहने अनुमान गरेको थियो । “हिजोभन्दा आज मौसम खराब हुन्छ भनेर हिजो पनि भनेका थियौँ । आज दिनभरि मौसम खुल्ने सम्भावना न्यून छ,” मौसमविद् मानन्धरले भनिन् ।
खराब मौसमकै कारण आज बिहान पोखराबाट जोमसोमतर्फ जाँदै गरेको जहाज सम्पर्कविहीन बनेको छ । उक्त क्षेत्रमा पनि आज दिनभरि मौसम खुल्ने सम्भावना नरहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो र रातिको समयमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहान पनि जहाज घटना भएको क्षेत्र र सुदूरपश्चिम, भैरहवालगायत तराईका क्षेत्रहरूमा वर्षा भइरहेको देखाएको थियो ।
तीनवटा न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशैभर वर्षा भइरहेको अवस्था हो । यसै पनि मनसुन सिजन सक्रिय हुने समय नजिकिएसँगै त्यसको प्रभाव पनि पर्न गएको विभागले जनाएको छ । मानन्धरका अनुसार मनसुन सिजन जुन ८ देखि मनिटरिङ हुन्छ । नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ । भोलि र पर्सि भने मौसम खुल्दै जाने विभागको पूर्वानुमान छ ।









