जिल्ला रुकुम पश्चिम साविक तत्कालीन खोलागाउ गा वि स वडा नं ७ स्यानाखोला हाल चौरजहारी नगरपालिका वडा नं १२ मा रहेको तत्कालीन प्राथमिक विद्यालय स्यानाखोला हालको जनकल्याण माध्यमिक विद्यालय सानाखोला हो । उक्त विद्यालय स्थापना गर्नका लागि तत्कालीन गांउका मुखिया केशरलाल उपाध्यायले दिएका थिए । उनी मेरा हजुरबुबा हुन। उक्त विद्यालयलाई केशरलाल उपाध्यायका तीन छोराहरु नन्द कुमार शर्मा, गोपाल प्रसाद शर्मा तथा भागवत शर्माले २०४८ सालको नापी नक्सामा कुनै दावी नगरी विद्यालयको नाममा जग्गा गराई दिए त्यो गर्नु उक्त परिवारको शिक्षा प्रतिको लगानी तथा झुकाव हो ।
मैले आफ्नो गाउँको सोही विद्यालयमा कक्षा १ देखि ५ सम्म करिब १ घन्टाको उकालो हिडेर अध्ययन गरेर प्राथमिक विद्यालयको शिक्षा उच्च अंक प्राप्त गर्दै प्रथम स्थान सहित अध्ययन गरेको थिए । मलाई प्राथमिक तहको शिक्षाको सुरुवात गराउने सम्मानिय गुरुहरु टिकाराम शर्मा हाल कोहलपुर नगरपालिका वडा नं १२ मा बसोबास गर्ने तत्कालीन प्रधानाध्यापक, डण्डविर वलि हाल मानाकोट आधारभुत विद्यालमा कार्यरत, यज्ञप्रसाद शर्मा हाल राप्तीसोनारी गाउँपालिका बाँके खोरिया स्कुलका प्रधानाध्यापक, भिम बहादुर वलि हाल जुम्ली पोखरी विद्यालयमा कार्यरत शिक्षक लगायत हुनुहुन्छ । कतिपय शिक्षक हरुको नाम विर्सन गएको छ । स्व. चन्द्र बहादुर वलि जो द्वन्द्व कालमा मारिनु भयो ।
यस विद्यालयमा मैले साना साना बेन्च माते होइन छरोमा बसेर अध्ययन गरेको अहिलेसम्म पनि ताजा छ । हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा भाग लियर कहिले प्रथम त कहिले दितिय भएको अनुभव अहिले पनि झल झली आउछन् ।
मैले उक्त विद्यालयमा अध्ययन गर्दा सुन्तला चक्लेटका पोकाहरु मलामे डाँडा बजारबाट लियर रु १ को ४ वटाको दरले बिक्री गरेको याद मेरो मानस पटलमा छ । एउटा जेहेन्दार छात्रको रूपमा मैले यय विद्यालय अध्ययन गरेको थिए । ढुंगाको छानो थियो एक र दुई कक्षामा भुईमा छारोमा बसेर पढेको थिए भने कक्षा तीन, चार र पाँच सानो-सानो बेञ्चमा बसेर पढेको थिए । सुर्के झोला अनि हाफ पाईन्ट सर्टको गोजीमा धेरै कलम हुन्थे । एक पटक विद्यालय जाने क्रममा बाटोमा केराको भित्रको चिज खाने क्रममा झोला बिर्सेर घरमा आउँदा आमाबाट पिटाई खाएको स्मरण ताजै छ भने एक पटक विद्यालय नगएर बाटोबाट तिंदु खाना मेरा दाईसँग तथा साथिसँग जाँदा भोलिपल्ट विद्यालय गुरु टिकाराम शर्माले प्रथम विद्यार्थीले यस्तो गर्दछन् भनेर पिट्दै गर्दा पिसाब आएको घटनाले झल्काउने गर्दछ ।
- त्यसबेला विद्यालयमा पानी बोकेर भरारिका काँईला दाईले लोटामा दिने गर्नु हुन्थ्यो । शौचालय थिएन तर विद्यालयको वरपरका रहेको गन्नाउने झारिमा दिशा पिसाब गरेको याद छ । विद्यालय वरपर तत्कालिन समयमा आफ्नै भए पनिपछि साउने पानिका अंकलहरुले किनिसक्नु भएको थियो । ट्वाईलेट गर्न झारिमा जाँदा यत्र तत्र अनि सर्बत्र दिशामात्र हुने गरेको थियो । त्यसमा पनि जग्गावालाको गाली त्यतिकै थियो ।
- विद्यालयको वरिपरि चोत्रा, अलि माथी लाली गुराँस र बाटोमा र पारिपटी अलि तलतिर खोलामा तिदुं, ऐसेलु, मछाईना टन्न खाईन्थ्यो । सिजनमा अम्बा पनि कम खाएको होइन । आंपको त कुरै नगरौ । एक त मेरो बावाले घरमा विभिन्न फलफूल आँप, बोगटी, अंगुर, तिदु, अनार, नास्पती, अम्बा, अमिला, कटहर, गुलावजामन, सानो जामन, सुन्तला लगायतको व्यवस्था थियो । हाम्रो परिवारले त्यो बगैंचाको फलफूल कहिल्यै बेच्ने काम गरेको थिएन ।
- विद्यालयबाट प्राप्त शिक्षालाई माध्यमिक तहसम्म लिन सकिने अवस्था उक्त विद्यालय नहुँदाको पीडा सहित कक्षा ६ देखि अर्को विद्यालय जानू पर्ने बाध्यता थियो । म सानैदेखि अलि खरो स्वाभावको भएको कारण पनि गाउँलेआमा बुबा साथीहरूले अलि छुच्चो भन्न्ने गर्दथे । मेरो विद्यालय जो हजुरबुबाको जगा दिएको विद्यालयले आज सम्झेको छ होला म मेरो विद्यालयलाई सहयोग गर्ने सोचमा छु । आज उक्त विद्यालय माध्यमिक तहसम्म सुविधाजनक पक्की भवन सहितको नमुना विद्यालय बनेको छ । खुसी छु मेरो विद्यालयले मुहार बदलेको छ । जनशक्ति बदलेको छ, भौतिक पुर्वाधार बदलेको छ ।
त्यसको लागि अहिरात्र लागि पर्ने प्रशाशक अनि शिक्षक, अभिभावक, विव्यस, शिअसंघ लगायत स्थानीय जनप्रतिनिधि पाएको छ । तर केशरलाल उपाध्यायको नाम मेटेको छ वा विर्सेको छ हेर्न अनि नियाल्न बाँकी छ ।
यो विद्यालयको उन्नति प्रगतिमा मेरो बाबा अनि काकाहरुको निकै लगानी छ । अध्ययन गरेर मेरो पनि केही अंश लगानी छ । तर पनि पुर्ण कार्यक्रममा जाने मौका पाएको छैन । पुर्व विद्यार्थी तथा जग्गा दाताको हिसावले मैले के गर्नुपर्ने हो म तयार छु र गर्ने छु यी मेरो प्रतिबद्धता हो ।
विद्यालयको जग अनि तत्कालीन द्वन्दको कारण बिना कारण भएको द्वन्द्वकालिन कार्बाहीको बाफजुत पनि मैले बाँके जिल्लामा निकै संघर्ष गरेको छु । म देशको सेवा, विश्वविद्यालयको सेवा, शिक्षाको ज्वती फैलाउने सवालमा मेरो जिवन जाने छ । सानै उमेर देखिको राजनीतिक यात्राको इतिहास म र मेरो परिवारमा यथावत छ नै राज्यको लागि हामी र हाम्रो परिवार लागेको इतिहास यथावत छ ।
हामी आतिने अनि मातिने होइनौं तर बेफुक्क र तर्कहिन कुराकोपछि पनि लाग्दैनौं ।, विद्यालयको मुहार अनि हरेक अवस्थाको परिवर्तनले म मात्र होइन आम स्यानाखोली बासिमा उज्यालो छाएको छ । हामी शिक्षा क्षेत्रमा छौ । उक्त ठाउँमा धेरैले रोजगारी पाएका छन् ।
मेरो विद्यालय काम गर्ने सम्पूर्ण सरोकारवाला व्यक्तिहरूलाई विशेष धन्यवाद र शुभेच्छा दिन चाहन्छु । आउने दिनमा विद्यालमा मात्र सिमित नभइ क्याम्पस बनाउने पहल गरोस् । धन्यवाद नगर सरकार अनि वडा सरकार जसले मेरो विद्यालयको मुहार बदल्ने कोशीस गरि अगाडि बढनु भएको छ ।
एकराज शर्मा
प्राध्यापक
बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँके