शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा हुने भएको छ । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्‍यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातिले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।