कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ । आज (मंगलबार) जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशभरआँशिक देखि सामान्य बदली रहेकाले कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा हुने जानकारी दिइएको छ ।

बुलेटिनका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर छ । बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र बन्न शुरु भई असोज ९ गते ‘गुलाब’ नामक शक्तिशाली चक्रवात‍ भारतको उडिसाको जमिनमा अवतरण भएको थियो । न्यून चापिय क्षेत्रको रुपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको बुलेटिनमा उल्लेख गरिएको छ ।

जसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने, तर यसको असरका कारण देशमा भारी वर्षा हुने संभावमा नरहेको बुलेटिनमा उल्लेख गरिएको जानकारी दिइएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ ।