प्रहरीले दुई जना भारतीय नागरिकको साथबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद गरेको छ । शुक्रबार दिउँसो महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाहिरबाट आउने सवारीसाधन थानकोटमा चेकजाँचका क्रममा उक्त परिमाणको नेपाली नगद बरामद गरेको हो ।
प्रहरीका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक हायस गाडीमा सवार भारतको महाराष्ट्र निवासी २६ वर्षीय सागर मालीको साथबाट ४५ लाख र त्यही ठाउँका १९ वर्षीय कृष्ण अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा श्रोत खुलाउन नसकेपछि प्रभागको टोलीले नगदसहित महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ । परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको छ । उक्त अवैध नेपाली रुपैयाँ उनीहरुले कहाँबाट ल्याएको भन्ने खुलिनसकेको बस्नेतले बताए ।









