रूसमा भएको आमनिर्वाचनमा युनाइटेड रसिया पार्टीले नै तल्लो सदन स्टेट डुमामा फेरि बहुमत ल्याउने देखिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना सकिँदा राष्ट्रपति भ्लादमिर पुटिनको समर्थक उक्त दलले ४५ प्रतिशत मत ल्याएको छ। प्रतिष्पर्धी अर्को दल कम्युनिष्ट पार्टीले २२ प्रतिशत हाराहारी मत पाएको छ।

यसपालि संसदमा सबैभन्दा ठूलो दल बने पनि युनाइटेड रसिया पार्टीले पाउने भोट भने अघिल्लो चुनावभन्दा घटेको छ। पाँच वर्षअघि भएको चुनावमा उक्त दलले ५४ प्रतिशत मत पाएको थियो।

राष्ट्रपति पुटिनका आलोचकले भने चुनावमा निकै धाधँली भएको आरोप लगाएका छन्। निष्पक्ष चुनाव भएको भए युनाइटेड पार्टीले निकै थोरै मत पाउने उनीहरूको भनाइ छ।

पुटिनका आलोचक एलेक्साई नाभाल्नीलाई जेल हालिएको, उनका समर्थकलाई चुनाव लड्न रोक लगाइएको, आलोचक मिडिया र गैरसरकारी संस्थाहरूलाई तारो बनाइएको उनीहरूले बताएका छन्।

ncell in

 

चुनावी परिणामले रूसको राजनीतिक परिदृश्यमा कुनै फरक भने ल्याउने देखिँदैन। पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर सन् १९९९ देखि रूसी सत्ताको केन्द्रमा छन्। ६८ वर्षीय पुटिन पश्चिमा मुलुकसँग उभिन  सकेको  र राष्ट्रिय गौरवलाई बढाएको ठानेर उनलाई समर्थक गर्नेहरू पनि धेरै छन्।

गत वर्ष संविधान संशोधन गरेर पुटिनलाई सन् २०३६ सम्म रूसी राष्ट्रपति बन्न बाटो खुला गरिएको छ। सन् २०२४ मा रूसमा राष्ट्रपतिको चुनाव हुँदै छ, उक्त चुनावमा उम्मेदवार बन्नेबारे पुटिनले अहिलेसम्म औपचारिक रूपमा केही बताएका छैनन्।