दाङमा १० हजार हेक्टर वन थप

दाङमा १० हजार हेक्टर वन थप

Sharing is caring!

अन्य जिल्लामा वन क्षेत्र मासिएको घटना सुन्नमा पाइन्छ तर पछिल्लो दुई दशकमा दाङको वन क्षेत्र बढेको छ । यो अवधिमा करीब १० हजार हेक्टर वन क्षेत्र बढेको जिल्ला वन कार्यालयले जनाएको छ । नदीले कटान गरिएको वन क्षेत्रमा वृक्षरोपण गरी स्थानीयवासीलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गर्ने कार्यबाट जिल्लाको वन क्षेत्र बढेको डिभिजनल अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला वनले यस वर्षदेखि बगरलाई वन गराउने अभियान थालेको छ । जसमा यस वर्ष मात्रै ४० हेक्टर बगरलाई तारजाली गरी करीब ६४ हजार बिरुवा लगाइएको छ । स्थानीय वन समूहकै अगुवाइमा बगरलाई वन बनाउने अभियान थालिएको हो । जसका लागि कार्यालयले स्थानीय जनतालाई प्रोत्साहनस्वरुप बगरलाई वन बनाउने कार्यका लागि स्थानीय वन समूहलाई प्रतिहेक्टर रु एक लाख रकमसमेत उपलब्ध गराएको छ । यस वर्ष दाङको ढिकपुर, धर्ना, लक्ष्मीपुरको बेलुवा, हापुरलगायतका नदीले कटान गरी बगर बनेको क्षेत्रमा तारजालीसहित वृक्षरोपण गरिएको कार्यालयले जनाएको छ । यस्तै नदी कटान क्षेत्र नियन्त्रणका लागि दाङमा चार हजार बाँसका बिरुवा पनि रोपिएको छ । नदी कटान क्षेत्र नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले चार हजार बाँसका बिरुवा रोपेको छ । बर्सातको समयमा आउने बाढीले जमीन कटान गर्दै आइरहेकामा त्यसलाई नियन्त्रण गर्न नदी तटीय क्षेत्रका विभिन्न पाँच ठाउँमा यो वर्ष चार हजार बाँसका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

रोपिएको बिरुवाको संरक्षणका लागि स्थानीय उपभोक्ताहरुकै सक्रियतामा बाँस रोपण कार्य गरिएको डिभिजन वन कार्यालय सूचना अधिकृत खिमुप्रसाद केसीले बताउनुभयो । उहाँका अनुसार उपभोक्ताहरुलाई यस वर्ष बाँस रोपेर संरक्षण गरेबापत एक बिरुवा एक सय रुपैयाँसमेत दिइएको छ । प्रत्येक वर्ष बिरुवा रोप्ने तर त्यसको संरक्षण नहुने प्रवृत्तिलाई अन्त्य गर्नका लागि यो वर्षदेखि संरक्षणमुखी वृक्षरोपण कार्यक्रम गरिएको उहाँले बताउनुभयो । यसैगरी घोराही र तुल्सीपुर उपमहानगरपालिका जोड्ने सडकको छेउमा शोभायमान प्रजातिका बिरुवा लगाउने काम पनि यो वर्षदेखि शुरु गरिएको वन कार्यालयले जनाएको छ । सडक छेउमा गोलमोर, करविन फूल, छतिवन, चाप, कपूर, क्रिसमस ट्री लगायतका नयाँ प्रजातिका तीन हजार ५०० बिरुवा रोपी तारबार गर्नेसमेत कार्यक्रम रहेको छ । त्यस्तै उत्तरतर्फको जङ्गलमा यो वर्ष मात्रै ५० हजार जडीबुटी लगाइने भएको छ । बङ्गलाचुली, बिजौरी, धर्ना लगायतका पहाडी भेगमा कुरिलो, सर्पगन्धा, तेजपात, अमला प्रजातिका ५० हजार बिरुवा लगाउन शुरु गरिएको छ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *