चेक बाउन्स मुद्धा हाल्दै हुनुहुन्छ ? होसियार ! आफैं फसिएला

चेक बाउन्स मुद्धा हाल्दै हुनुहुन्छ ? होसियार ! आफैं फसिएला

Sharing is caring!

चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ ।अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको समेत स्रोत खोजी गर्ने भएको छ।महानगरीय प्रहरी परिसर काठमान्डौका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक बाउन्सका ६५ भन्दा धेरै उजुरी पर्ने गरेका छन् । मातहतका १४ वृत्तमा पनि दैनिक ६५ कै दरले उजुरी पर्छन् । परिसर र वृत्तका उजुरी विश्लेषण गर्दा प्रत्येक दिन सरदरमा दुई करोड रुपैयाँको चेक बाउ न्ससम्बन्धी उजुरी कार्यालयमा दर्ता भएको प्रहरी बताउँछ ।
त्यसमध्ये ५० प्रतिशत उजुरीकर्ता मात्रै वास्तविक पीडित रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । बाँकी ५० प्रतिशत मिटरब्याजीदेखि विभिन्न पेसाका दलाली रहेको प्रहरीले जनाएको छ ।परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले चेक बाउन्सका उजुरीकर्ता मिटर ब्याजीदेखि स्वार्थ केन्द्रित धन्दामा लागेकाहरू पाइएपछि अब चेकमा उल्लेखित रकमको स्रोत खोजिने बताए । उनले भने, ‘पछिल्लो समय लागू भएको मुलुकी संहिताले चेक बाउन्सलाई फौजदारी मुद्दाअन्तर्गत राखेको छ । वास्तविक पीडितले न्याय पाउने उद्देश्यले कानुनको कल्पना गरिएको हो ।
तर, पछिल्ला दिन मिटरब्याजीदेखि स्वार्थ केन्द्रित धन्दामा लागेकाहरूले यसलाई हतियार बनाए । हामी कहाँ आउने अधिकांश उजुरी यस्तै समूहका छन् । त्यसैले प्रत्येक चेकमा उल्लेखित रकमको स्रोत खोज्दै छौँ ।’प्रहरीका अनुसार गत साउनयता परिसरमा मात्रै चेक बाउन्समा दुई हजार ४ सय ४८ उजुरी परेका छन् । मातहत रहेका १४ वृत्तमा दुई हजार पाँच सयभन्दा धेरै उजुरी परेका छन् । उजुरी भएका चेक ४० हजारदेखि तीन करोड ५० हजार रुपैयाँसम्मका छन् । परिसरमातहत बैंकिङ कसुर मुद्दा अनुसन्धानमा संलग्न डिएसपी विष्णु सेटीले उजुरीमा उल्लेखित रकमको परिणाम ठूलो रहेको बताए ।
उनले भने, ‘चेक बाउन्सका मुद्दा बढेका छन् । प्रत्येक दिन ६० देखि ६५ बाउन्सका उजुरी आउँछन् । उजुरीमा उल्लेखित रकम सरदर एक करोड रुपैयाँको हुन्छ । परिसर र वृत्तमा परेका उजुरीको रकम जोड्दा निक्कै ठूलो परिणाम आउँछ । अब यसको स्रोत खोजिन्छ । स्रोत नखुलेकाहरूलाई सम्पत्ति शुद्धीकरण मुद्दाअन्तर्गत कारबाही अघि बढाइनेछ ।’प्रहरीका अनुसार चेक बाउन्सका उजुरीकर्ता थरीथरीका छन् । नेपाली सेनाका एक पूर्वजर्नेल आफ्नै छोराले चेक बाउन्सको उजुरी हालेका कारण प्रहरी कार्यालय चक्कर लगाइरहेका छन् ।
भदैले भनेको व्यक्तिलाई चेक काटिदिँदा फूपू हिरासतमा परेको घटना पनि रहेको प्रहरीले जनायो ।परिसर प्रमुख एसएसपी सुवेदीले भने, ‘बाउविरुद्ध छोराले चेक बाउन्सको मुद्दा हालेको छ । भदैले भनेको व्यक्तिलाई चेक काटिदिने फूपू पनि हाम्रै हिरासतमा छिन् । चेक बाउन्सको जालो अपत्यारिलो छ । यसलाई सूक्ष्म रूपले विश्लेषण गर्न सकिएन भने दुर्घटना निम्तिने पक्का छ ।’ नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *